Saturday, September 27, 2008

मिस नेपालहरुको क्रन्दन


बुधबार मिस नेपालका प्रतियोगीहरु एक ठाउँमा भेला भएर आफ्नो मानव अधिकार लुटिएको घटना सुनाउँदै थिए । नायिकासमेत बनिसकेकी उषा रजकले आफूलाई केही व्यक्तिले मिस नेपालमा भाग नलिन कस्तरी धम्क्याउँदै थिए भन्ने बताउँदै थिइन् । अर्की प्रतियोगी जेनिशा मोक्तानले चाहिँ आफूमाथि परेको वज्रपात व्यक्तै गर्न सकिनन् र उनकी अर्की साथीले भनिन्, बजारभरि एउटा अश्लील भिडियो छरिएको छ र त्यो भिडियोकी व्यक्ति जेनिशा मोक्तान हो भनेर प्रचार गरिँदैछ ।

१६ जना मिस नेपालका प्रतियोगीहरु हरेकले मिस नेपालमा भाग लिनु पर्दा यस वर्ष आफूले पाएको पीडाको कुरा ओकलिरहेका थिए र उनीहरुले आफ्नो प्रतियोगितामा भाग लिने अधिकार किन कुण्ठित पारियो भनेर प्रश्न गर्दै थिए ।

ल ठीकै छ, कार्यक्रम यस वर्षगर्न नदिऊन् वा नहोस् तर व्यक्तिगत रुपमा फोन गरेर उनीहरुलाई पीडा दिने काम त मानव अधिकारभित्र पक्कै पनि पर्दैन होला । कुनै कार्यक्रममा भाग लिनु वा नलिनु व्यक्तिको अधिकार हो र त्यो अधिकार कुण्ठित पारिनु हुन्न ।

यसबेला मलाई एक सभासदको याद आयो । उनी कार्यक्रमका प्रमुख अतिथि थिए, मानव अधिकार चलचित्र महोत्सव उद्घाटनको । केही साताअघि हामी केही पत्रकार, चलचित्रकर्मी नवीन सुब्बा, मिडिया जागरण सेन्टरका पदाधिकारीहरु र ती सभासद् आहुती हामी कलेजमा कसरी संसारभर मानवअधिकार हनन् भइरहेको छ र यस हननबाट नेपालीहरुले के कस्तो शिक्षा पाउन सकिन्छ भन्ने विषयमा जानकारी दिँदै थिए ।

र, हामी बाटामा जाँदै गर्दा मिस नेपाल कार्यक्रम किन हुनुहुँदैन भनेर उनले केही कुरा राखेका थिए । मैले उनको कुरा प्रतिवाद गरेँ र मिस नेपालमा भएका गल्ती वा कमजोरी यदि छन् भने सच्याउनु पर्छ तर रोकिनु चाहिँ हुँदैन ।

तब उनले एक्कासि मलाई भने, तपाइँ त कांग्रेसी सोचको व्यक्ति हुनुहुँदो रहेछ ।

म अवाक् भएँ । हामीले कस्ता सभासदलाई संविधानसभा निर्माण गर्न पठाएका रहेछौँ - अनि कस्ता सभासद छानेछौँ कि मिस नेपाल कार्यक्रम हुनुहुँदैन भन्ने मानसिकता र सोचका व्यक्ति, थोरै पनि कार्यक्रमको गम्भीरता नबुझेका व्यक्ति र कम्तीमा कार्यक्रममा भाग लिन चाहने युवतीहरुको मानव अधिकार कुण्ठित भइरहेको छ भन्ने सोच्दै नसोची उनले मलाई एकै पटकमा मेरो सोच कस्तो भन्ने प्रष्ट्याइरहेका थिए ।

मैले ती मिस नेपालमा भाग लिने प्रतियोगीहरुको पीडा खुल्दै जाँदा तिनै सभासद् आहुतीलाई सम्भिmएँ । मलाई यतिबेला आहुतीलाई प्रश्न सोध्न मन लागेको छ, सभासदज्यू तपाइँले मानव अधिकारको भाषण गर्दै जाँदा तिनको मानव अधिकारका बारेमा अलिकति ख्याल राखिदिनु भए बेस हुने थियो ।

र, अर्कोतिर ती १६ जना प्रतियोगीहरुले अब मिस नेपाल होस् या नहोस् तर आफूहरु एउटा जागरुक महिलाका हिसाबले नेपाल र नेपालीका विषयमा आवाज उठाइरहने, मानव अधिकार र चेलिबेटी बेचबिखन र आन्तरिक शरणार्थीका विषयमा बोलिरहने बताइरहेका थिए ।

उनीहरुले यस्तो घोषणा गर्दा मलाई लागिरहेको थियो, त्यो कार्यक्रममा त एक जना मात्र मिस नेपाल हुन्थिन् तर कार्यक्रम रोकिएर एउटा फाइदा भयो, हामीले १६ जना मिस नेपाल एक साथ पायौँ ।

श्रोत: साईबरसन्सार डट क्म

0 comments COMMENT FORM:

Post a Comment